बुधबार, १ असोज, २०७६
Wednesday, 18 September, 2019
Skip Advt.

विद्यालयलाई ‘स्मार्ट लर्निङ सेन्टर’ बनाउन आवश्यक

विद्यालयमा चाँडै नै नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यार्थी अर्को कक्षामा उक्लिँदै छन् । साना नानीहरू पनि कखरा सिक्न विद्यालय जाने तयारीमा छन् । अभिभावक आफ्ना बालबच्चाका लागि सही विद्यालयको खोजीमा छन् । वास्तवमा भोलिको समाजलाई आवश्यक पर्ने हरेक क्षेत्रका जनशक्ति उत्पादन गर्ने स्रोत केन्द्र नै यी विद्यालय हुन् । आफ्ना छोराछोरीले स्तरीय शिक्षा पाऊन् भन्ने चाहना हरेक अभिभावकमा हुन्छ । तर, के हाम्रा विद्यालयहरूले त्यस्तो व्यावहारिक, व्यावसायिक, सिपमूलक शिक्षा दिन सकेका छन् त ?

मुख्यतः परम्परागत शैलीमा आधारित शिक्षण पद्धति भएकाले विद्यालयहरूमा गुणस्तरीय पठनपाठन अझै चुनौतीको विषय बनिरहेको छ । हामीले २१औं शताब्दीमा शिक्षाको कुरा गरिरहे पनि हाम्रा विद्यालयले १८औं शताब्दीको जनशक्ति उत्पादन गरिरहेका छन् ।

अबका विद्यालयले व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा प्रदान गर्न सक्नुपर्छ । पाठ्यपुस्तकको ज्ञानले मात्रै विद्यार्थी अब्बल हुन सक्दैनन् । विद्यार्थीको मनोवैज्ञानिक र बौद्धिक विकासका लागि विद्यमान पाठ्यसामग्री पर्याप्त छैनन् । यसर्थ विद्यालय अब स्मार्ट लर्निङ सेन्टर बन्न सक्नुपर्छ ।

यसलाई स्वीकार्नै पर्छ । परम्परागत शिक्षण शैलीको मानसिकताबाट माथि उठ्न नसक्ने हो भने अझै धेरै वर्ष यही परिणाम दोहोरिरहनेछ । शिक्षकले एकोहोरो भाषण र प्रवचन दिने र विद्यार्र्थीले किताबका विषयवस्तु कण्ठस्थ पारेर हुबहु परीक्षामा उतार्ने प्रवृत्तिले देशको शिक्षा क्षेत्र उकासिँदैन । 

यसर्थ विद्यालय शिक्षालाई गुणस्तरीय र परिणाममुखी बनाउन अत्यावश्यक भइसकेको छ । यसका लागि सूचना तथा सञ्चार प्रविधि महत्वपूर्ण साधन हुन सक्छ । यसको उच्चतम प्रयोग गर्दै विद्यालयलको सिकाइ तथा शिक्षण प्रक्रियालाई आधुनिक, व्यावहारिक र समयसापेक्ष बनाउन सकिन्छ । केही विद्यालयले स्मार्ट शिक्षणको अभ्यास नगरेका होइनन् । सरकारी प्रयासहरूले पनि शिक्षण र सिकाइ प्रक्रियामा प्रविधिको प्रयोगलाई जोड दिएको पाइन्छ । तर, अधिकांश विद्यालय तहमा प्रविधिका साधन प्रयोगका लागि पूर्वाधार र जनशक्तिको अभाव छ । त्योभन्दा धेरै इच्छाशक्तिको अभाव छ । 

वर्षौंदेखि एउटै पद्धतिबाट शिक्षण गरिररहेका शिक्षकहरू नयाँ प्रविधिमा आउन खोज्दैनन् । स्मार्ट शिक्षकविना स्मार्ट शिक्षा सम्भव हुँदैन । यसले विद्यार्थीलाई पनि स्मार्ट बनाउँदैन । हाल विद्यालयको पाठ्यक्रम डिजिटल स्वरूपमा पनि आउन थालेका छन् । अनलाइन र अफलाइनमा उपलब्ध हुने अक्षर, चित्र, रङ र ध्वनि, भिडियो आदिको सम्मिश्रण भएका डिजिटल पाठ्यसामग्रीको लाभ शिक्षक र विद्यार्थी दुवैले लिन सक्छन् । साथै, विभिन्न सफ्टवेयर, वेबसाइट र एपको प्रयोग गरी विद्यार्थीको सिकाइ प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउन सकिन्छ । 

अबका विद्यालयले व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा प्रदान गर्न सक्नुपर्छ । पाठ्यपुस्तकको ज्ञानले मात्रै विद्यार्थी अब्बल हुन सक्दैनन् । विद्यार्थीको मनोवैज्ञानिक र बौद्धिक विकासका लागि विद्यमान पाठ्यसामग्री पर्याप्त छैनन् । यसर्थ विद्यालय अब स्मार्ट लर्निङ सेन्टर बन्न सक्नुपर्छ । आधुनिक आईसीटी ल्याब, ई–पुस्तकालय, उच्च गतिको इन्टरनेट, ई–लर्निङ प्लाटफर्म आदिको समुचित व्यवस्था हुन जरुरी छ । डिजिटल प्रणालीबाट कक्षाकोठा तयार गरिनुपर्छ । मुख्य कुरा शिक्षक आफै प्रविधिमैत्री बन्न जरुरी छ । राज्यले पनि विद्यालयमा न्यूनतम पूर्वाधारको रूपमा डिजिटल पूर्वाधार पु¥याउन कार्यक्रम ल्याउनुपर्छ । यसका लागि मुख्य कुरा इन्टरनेट कनेक्टिभिटी हो । शिक्षालयमा सुलभ र सहजतापूर्वक इन्टरनेटका लागि कार्यक्रम ल्याउन जरुरी छ । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा