बिहीबार, १२ असार, २०७६
Thursday, 27 June, 2019

नेपालमा आइटी : हामी कता अलमलिरहेका छौं ?

सूचना प्रविधि क्षेत्रमा नेपालको प्रवेश भएको अहिले होइन । भारतमा भन्दा पहिले कम्प्युटर यहाँ भित्रिएको थियो । अहिले भारतीय अर्थतन्त्रमा सूचना प्रविधि उद्योगको उच्च योगदान छ । नेपालमा भने एक प्रतिशत योगदान पुर्याउन समेत सकिएको छैन । हाम्रा दुवै छिमेकी देश भारत र चीनले आइटी क्षेत्रमा धेरै खुड्किला पार गरिरहेका छन् । अन्तरआत्माले भन्ने हो भने नेपालमा आइसिटीको आवश्यकतालाई महसूस नै गर्न सकेका छैनौं । दुई–चार ओटा मोबाइल एप र वेबसाइट बने भन्दैमा आइटीमा अघि बढ्यौं भन्न मिल्दैन । हामी सानोतिनो कुरैमा सन्तुष्ट हुन्छौं । यो ठीक होइन । विकासका लागि आइटी एक संवाहक हो भन्ने कुरा सरकारी अधिकारीले बुझेकै छैनन् । एकेडेमियाले मात्रै गरेर हुने केही होइन । सबैको प्राथमिकतामा आइटी रहनुपर्यो । केही समयअघि नेपालमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सूचना प्रविधिका विषयलाई उच्च प्राथमिकतामा राखिन्छ कि भन्ने आशा थियो । तर कुरै भएन । 

अब आइटीविना केही गर्न नसकिने बेला आएको छ । पछिल्लो प्रविधि इन्टरनेट अफ थिङ्स र आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । नेपालमा पनि नीतिगत तवरबाटै यसलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन जरुरी छ । आर्थिक रणनीतिका लागि यस्ता नवीनतम प्रविधिबारे सम्बन्धित निकाय जानकार हुन आवश्यक छ ।

हामी आर्थिक उन्नति गर्न आइटीलाई बढावा दिनुहोस् भन्छौं, उहाँहरू सुन्नुहुँदैन । अरू उद्योग र कलकारखानाको कुरा गर्नुहुन्छ, तर आईटीको कुरा गर्नुहुँदैन । विश्व जगत्को अहिलेको सफलतामा आइटीकै देन छ । यसका लागि सरकार, विश्वविद्यालय र निजी क्षेत्रको बलियो साझेदारी हुनुपर्छ । उनीहरु मिल्नैपर्छ । सामूहिक प्रयास हुने हो भने निश्चय पनि सफलता पाउन सकिन्छ । हाम्रो देशमा केके आवश्यकता छ भनेर हामीले नै पहिचान गर्ने हो । एकेडेमिसियनले रिसर्च र अनुसन्धान गर्नुपर्छ । जापान, कोरिया, फिलिपिन्स, मलेसिया, हङकङ, ताइवानको उदाहरण हेर्दा उनीहरू कसरी समुन्नत भए भन्ने प्रश्नको उत्तर नै आईटी हो । यी देशहरूले विश्वविद्यालयमार्फत् अनुसन्धानमा बढी जोड दिए । अनि जे माग र आवश्यकता छ, त्यहीअनुसार कार्ययोजना ल्याए । तर, हाम्रो देशमा यस्तो सोच पटक्कै आएन । कुरा गर्छौं, काम गर्दैनौं । 

सरकार, राजनीतिक दल, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र सबैको आवाज कसरी आइटीको विकास हुन्छ र हरेक क्षेत्रले कसरी आइटी प्रयोग गर्न सक्छन् भन्ने विषयमा हुनुपर्छ । संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकासका १७ लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रा लागि १४ नम्बरको लक्ष्यबाहेक सबै लक्ष्य हासिल गर्न सूचना प्रविधि निर्णायक हुन्छ । गरीबी निवारण, सफा खानेपानी, सरसफाइ, शहरीकरण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको विकासका लागि आइसिटीको प्रयोगलाई ध्यान दिर्नैपर्छ । यी क्षेत्रको विकास, विस्तार र व्यवस्थापन गर्न आइटीलाई प्राथमिकता दिनुपर्छ ।

हामी कता अल्मलिरहेका छौं ?
अब आइटीविना केही गर्न नसकिने बेला आएको छ । पछिल्लो प्रविधि इन्टरनेट अफ थिङ्स र आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । नेपालमा पनि नीतिगत तवरबाटै यसलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन जरुरी छ । आर्थिक रणनीतिका लागि यस्ता नवीनतम प्रविधिबारे सम्बन्धित निकाय जानकार हुन आवश्यक छ । वास्तवमा आइटी हरेक क्षेत्रका लागि हो । आईटीविना न व्यक्ति अगाडि बढ्न सक्छ न कुनै संस्था । समग्र देश अगाडि बढ्न आइटी नै संवाहक हो । पछिल्लो समय आइटी पढ्ने र पढाउने क्रम बढिरहको छ । यो सुखद पनि हो । तर, के हामीले पढाएको शिक्षाले उद्योगमा सकारात्मक प्रभाव पारिरहेको छ त ?

यहाँ जति भएको छ, पशुपतिनाथको कृपाले भएको छ । नीति निर्माणका लागि अहिलेको आवश्यकता के हो भन्नेबारे जो चिन्तित हुनुपर्ने हो, उनीहरु छैनन् । दिगो विकासको लक्ष्य हासिल गर्न आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ प्रविधिको सहयोग दिनुपर्छ ।

हामीले विद्यार्थीलाई एआई त पढाउँछौैं, तर त्यसको उपयोगिता कसरी गर्न सक्छौं भनेर बुझाउँदैनौं । अबको ५० वर्षमा एआईले औद्योगिक क्रान्ति ल्याउनेछ । यसमा दुई मत छैन । धेरै सरकारले यसका लागि कार्यक्रम ल्याइसकेका छन् । अन्य देश पनि संवेदनशील र सतर्क छन् । तर, नेपालमा योजना आयोगले विकासका खाँका बनाउँदा यस्ता विषयमा रणनीति बनाउँदैन । रणनीतिक योजनामा आइटी पर्न सकेको छैन । एक/दुई सेमिनार पाँचतारे होटलमा गर्दैमा ओहो भन्ने अवस्था रहेन अब ।

अहिले गण्डकी टेक्निकल युनिभर्सिटी निर्माण गर्ने चर्चा सुनेको छु । म त भन्छु आइटीका लागि छुट्टै युनिभर्सिटी चाहिन्छ । उसलाई थिंक ट्यांकको जिम्मेवारी दिनुपर्छ । उसले नै अनुसन्धान गर्छ । हामी कलकारखाना मात्रै भन्छौं । ज्वलन्त उदाहरण के हो भने बेलायतबाट भारत छुट्टिँदा भारतले एउटा राम्रो विश्वविद्यालय बनाइदिन भन्यो । जापानले कोरिया छाडेपछि त्यहाँ अमेरिकाले विश्वविद्यालय बनाइदियो । उनीहरूले दूरगामी सोच राखे र अघि बढे । हामी परिवर्तनसँग डरायौं र जहाँको त्यहीँ भयौं । म त नेपालमा ११ विश्वविद्यालय कम भयो भन्छु । एकेडेमियालाई यति धेरै काम दिनुपर्छ कि उसले काम काम भनेर अरू केही सोच्न नसकोस् । हामीभन्दा सानो देश दक्षिण कोरियामा मात्रै २ सय २३ विश्वविद्यालय छन् । हामी चाहिँ विश्वविद्यालय खोल्नपर्छ भन्दा विरोध गर्छौं । 

आइओटी र एआईमा जोड दिन आवश्यक
काठमाडौं विश्वविद्यालयमा म लामो समयदेखि प्राध्यापनरत छु । हामीले नेपालमा कम्प्युटर साइन्स फिल्डको भविष्य छ भनेर यो विषय सुरु गरेका थियौं । अहिले एआई, मेशिन लर्निङ, डिप लर्निङ, आइओटी लगायतलाई पाठ्यक्रममा समावेश गरी अध्यापन थालेका छौं । यससम्बन्धी विभिन्न अनुसन्धान पनि भइरहेका छन् । म स्वयम् आईओटी अध्यापन गराइरहेको छु । मेरो सुपरभिजनमा ३ जना विद्यार्थीले मास्टर लेभलमा स्मार्ट वाटर, स्मार्ट हेल्थ र स्मार्ट सेक्युरिटीमा रिसर्च गरिरहेका छन् । इन्टेलिजेन्स सिस्टम ल्याब पनि खोल्दै छौं । यसका लागि दातृ निकायसँग कुरा भइरहेको छ । 

कसको भूमिका के ?
नेपाल सरकारले २०२२ मा अतिकम विकसित देशबाट विकासशील देशमा लैजाने योजना ल्याएको छ । साथै डिजिटल नेपालका लागि अभियान आएको छ । यसका लागि हरेक क्षेत्रमा योजनाबद्ध कार्यक्रम ल्याउन जरुरी छ । अर्कोतर्फ विश्वविद्यालयमा हुने पढाइलाई  उपयोगितामा कसरी जोडन् सकिन्छ भन्नेमा हामीहरु गम्भीर हुनुपर्ने बेला आएको छ । हामीले उत्पादन गरेका जनशक्तिको व्यवस्थापन गर्न जरुरी छ । तर तितो यथार्थ के छ भने हामीले अमेरिका, पश्चिमेली मुलुकहरूको विकासका लागि जनशक्ति उत्पादन गरिरहेका छौं । निजी क्षेत्र पनि आउटसोर्सिङकै लागि मात्रै आकर्षित छ ।

यहाँ जति भएको छ, पशुपतिनाथको कृपाले भएको छ । नीति निर्माणका लागि अहिलेको आवश्यकता के हो भन्नेबारे जो चिन्तित हुनुपर्ने हो, उनीहरु छैनन् । दिगो विकासको लक्ष्य हासिल गर्न आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ प्रविधिको सहयोग दिनुपर्छ । यससम्बन्धी नीति चाहिन्छ । त्यस्तै निजी क्षेत्रका सन्दर्भमा अब आफ्नो व्यवसाय विश्वव्यापी रुपमा गर्ने हो र बाहिरका उद्योगसँग प्रतिष्पर्धा गर्ने हो भने आइओटी, डिप लर्निङ, मेशिन लर्निङ आदिको प्रयोग गर्नैपर्छ । यसको अधिकतम सदुपयोग गर्नुपर्छ । अहिले नि गरेनौं भने घरिघरि अवसर आउँदैन । 

(लेखक काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत छन् ।)
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा